०३ जेठ २०८२, शुक्रबार
Tags

न्यायको लागि संघर्षरत डा. निता यादव: “अदालतको फैसला भएपनि जग्गा भोगचलन गर्न पाइन”

रणभुमी डेस्क बिहिबार, जेठ ०२, २०८२

विराटनगर / विराटनगर निवासी चिकित्सक डा. निता यादवले अदालतले फैसला गरिदिएको जग्गा भोगचलन गर्न नपाएको र श्रीमानको परिवारबाट निरन्तर मानसिक तनाव र धम्कीको सामना गर्नुपरेको बताएकी छिन्। आज आयोजित पत्रकार सम्मेलनमा डा. यादवले आफूमाथि भएको अन्यायको विरुद्धमा न्याय पाउन पहल गरिदिन अनुरोध गरिन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्रोफेसरको रूपमा कार्यरत डा. यादवले २०७९ भदौ २ गते आफ्ना श्रीमान् डा. सुशिल यादव विरुद्ध सुनसरी जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन्। अदालतले २०८० वैशाख ७ गते श्रीमानको आधा अंश डा. निता यादवलाई दिने फैसला गरेको थियो, जुन उच्च अदालतबाट समेत २०८१ साउन १६ गते सदर भएको छ।

“न्यायालयको फैसला मेरो पक्षमा आइसकेपनि मेरा ससुरा डा. सितल यादव र देवर सुनिल यादवले जग्गा मेरो नाममा आउन नदिन अनेक प्रपञ्च रचिरहेका छन्,” डा. यादवले भनिन्।

उनका अनुसार, उनका श्रीमान् डा. सुशिल यादवको गत वर्ष जेठ ३१ गते निधन भइसकेको छ। श्रीमानको मृत्यु अगावै अदालतमा मुद्दा चलिरहेको थियो। अदालतले श्रीमानको निधनपछि, उनको नाममा भएको सम्पूर्ण जग्गा डा. निता यादवको नाममा नामसारी गर्ने फैसला गरेको थियो।

  “श्रीमानको रोगबारे लुकाएर विवाह गराइयो”

डा. यादवले २०११ सालमा एमबिबिएस अध्ययनरत रहँदा डा. सुशिल यादवसँग विवाह गरेको बताइन्। तर विवाह पश्चात् उनलाई आफ्ना श्रीमान् सिजोफ्रेनिया नामक मानसिक रोगबाट पीडित रहेको जानकारी प्राप्त भयो।

“मेरो विवाह हुनु अघि श्रीमानको परिवारले उहाँको रोगबारे झुक्याएर विवाह गराएका थिए। विवाहपछि मात्र मलाई र मेरो माइतीलाई यो कुराको जानकारी भयो,” उनले बताइन्।

डा. यादवका अनुसार, उनका ससुरा डा. सितल यादवले आफ्ना छोरा सुशिल यादवलाई २०५८ भदौ २४ गते नै अंश छुट्याइदिएका थिए। त्यसअनुसार, बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ र ३ मा विभिन्न ६ वटा कित्तामा ४ बिघा बढी जग्गा उनका श्रीमानको नाममा रहेको छ।

 

“जग्गा भोगचलन गर्न दिइएन”

डा. यादवले अदालतको फैसला पश्चात् आफ्नो जग्गामा खेती, मजदुर बस्ने टहरा, कल धारा र बिजुली बत्ती जडान गर्न टंकीसिनवारीमा रहेको जग्गामा जाँदा ससुरा र देवरको प्रभावमा स्थानीय कर्मचारीहरूले जग्गा विवादित रहेको भन्दै कुनै पनि कार्य गर्न रोक लगाएको आरोप लगाइन्।

“मलाई गुण्डाहरू प्रयोग गरी धम्क्याउने, चरित्र हत्या गर्न झुटो लाञ्छना लगाउने र कर्मचारीतन्त्रलाई प्रभावित गरी दुःख दिने काम भइरहेको छ। मेरो ज्यान माथि समेत खतरा उत्पन्न भएको छ,” उनले भनिन्।

पत्रकार सम्मेलनमा डा. यादवले आफ्ना ससुरा डा. सितल यादवको नाममा सिटी हस्पिटल, विराट नर्सिङ होम अगाडि ७ वटा सटर र २ वटा घर, विराटनगर महानगरपालिकामा ५ कठ्ठा ९ धुर जग्गा, पीपल चौक कञ्चनबारीमा १९ धुर जग्गा, तिनपैनीमा २ कठ्ठामा बस्ने घर, र टंकी सिनवारीमा १२ बिघा ७ धुर जग्गा तथा १ घर रहेको दाबी गरिन्।

डा. यादवका अनुसार, उनका श्रीमानको छुट्टै आयश्रोत नभएका कारण उनको अंश नदिन ससुरा तथा देवरले विभिन्न प्रपञ्च रचिरहेका छन्।

यसबारे ससुरा डा. सितल यादव र देवर सुनिल यादवसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेन। उनीहरूको धारणा समाचारमा समावेश गरिनेछ।

यहाँ कमेन्ट गर्नुहोस्