१६ आषाढ २०८२, मंगलबार
Tags

तस्करी नियन्त्रण अभियानः सीमावर्ती सर्वसाधारणलाई समस्या

रणभुमी डेस्क शनिबार, जेठ ०३, २०८२

विराटनगर / गृहमन्त्री रमेश लेखकले तस्करी नियन्त्रणको घोषणा गरेको एक दिन नबित्दै सीमा क्षेत्रमा प्रशासनले कडाइ गरेपछि सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू समस्यामा परेका छन्। विराटनगर महानगरपालिका वडा नं. १६ का स्थानीय समाजसेवी विकास मण्डलले यस कदमप्रति आपत्ति जनाएका छन्।

मण्डलका अनुसार दिउँसो सीमा क्षेत्रमा कडाइ गरेर सर्वसाधारणको दैनिक उपभोग्य सामग्री रोक्नुले वास्तविक तस्करी नियन्त्रण हुन सक्दैन। उनले भने, “सेटिङ मिलाएर राती हुने तस्करी र भन्सारबाटै अवैध रूपमा ट्रकमा हुने माल निकासी नियन्त्रण नगरी सर्वसाधारणको स-साना झोला रोकेर के उपलब्धि हासिल हुन्छ?”

मिल्स एरियामा अधिकांश मिलहरू बन्द रहेको अवस्थामा स्थानीय बासिन्दाहरू बेरोजगारी र गरिबीबाट ग्रस्त छन्। दैनिक ज्याला मजदुरी गरी थोरै आम्दानीमा जीविकोपार्जन गर्नुपर्ने सर्वसाधारणले भारतीय सीमा नजिकैको बजारबाट दैनिक उपभोग्य सामग्री खरिद गर्ने गरेका छन्।

मण्डलले सरकारलाई निम्न आय भएका व्यक्तिहरूको समस्यालाई ध्यानमा राख्दै सीमित मात्रामा आवश्यक खाद्यान्न ल्याउन लगाइएको प्रतिबन्ध यथाशीघ्र फिर्ता लिन आग्रह गरेका छन्। उनले प्रश्न गरे, “कसैले सुन लान पाउने र कसैले नुन लान नपाउने?”

गृहमन्त्री लेखकले कोशी प्रदेशको सुरक्षा निकायहरूलाई तस्करी नियन्त्रण गर्न दिएको निर्देशन सम्बन्धी भिडियो मण्डलले फेसबुकमा सेयर गर्दै यो प्रतिक्रिया दिएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्