०७ जेठ २०८२, मंगलबार
Tags

झापामा ३ करोड ६१ लाखको अवैध सामान सहित भारतीय कन्टेनरहरु प्रहरी नियन्त्रणमा

रणभुमी डेस्क सोमबार, जेठ ०६, २०८२

झापा / झापा प्रहरीले बुधबार राति भारतबाट अवैध रूपमा भित्र्याइएका करिब ३ करोड ६१ लाख रूपैयाँ बराबरको कृषि उपकरण सहित ३ वटा भारतीय नम्बरका कन्टेनरहरु नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व-पश्चिम राजमार्गको बिर्तामोड-५ स्थित सडक खण्डमा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा भन्सार छली गरी ल्याइएका सामानहरू फेला परेका हुन्।

साँझ करिब ७ बजे भारतबाट काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरहरुमा ट्रक कम्बाइन हार्भेस्टर विथ स्ट्र कलेक्टर एण्ड स्ट्याण्डर्ड एक्सेसरिज लोड गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले उक्त कन्टेनरहरुमा रहेका सामानहरू जाँच गर्दा भन्सार छली गरेको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए।

“हामीलाई गोप्य सूचना प्राप्त भएपछि तत्काल चेकजाँच गर्दा भन्सार छली गरेर ल्याइएका सामानहरू फेला परे,” प्रहरी निरीक्षक श्रेष्ठले भने।

प्रहरीका अनुसार बरामद गरिएका सामान र कन्टेनरहरू थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भन्सार छली सम्बन्धी घटनाहरू बढ्दै गएपछि सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ। यसअघि पनि काकरभिट्टा क्षेत्रबाट विभिन्न समयमा अवैध सामानहरू बरामद गरिएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्