१० जेठ २०८२, शनिबार
Tags

धनकुटामा १८ सय किलो गाँजासहित लागुऔषध जलाई नष्ट

रणभूमी डेस्क शनिबार, जेठ १०, २०८२

धनकुटा / धनकुटा प्रहरीले विभिन्न समयमा बरामद गरेको ठूलो परिमाणको लागुऔषध शनिवार कानुनी प्रक्रिया पूरा गरी जलाई नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाले आजको दिन धनकुटा नगरपालिका वडा नं. ९ मुलघाट स्थित तमोर नदीको किनारमा १८३८ केजी गाँजा, ४१४ क्याप्सुल ट्रामाडोल, ५० ट्याब्लेट डाइजिपाम र ३३३ ट्याब्लेट डाइसिक्लोमाइनलाई जलाई नष्ट गरेको हो।

प्रहरी निरीक्षक बिष्णु बहादुर खड्काको कमाण्डमा १५ जनाको प्रहरी टोलीले यो कार्य सम्पन्न गरेको छ। लागुऔषधहरू नष्ट गर्ने कार्यमा धनकुटा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा सञ्चारकर्मीहरू र स्थानीय नागरिकहरूको समेत उपस्थिति रहेको प्रहरीले जनाएको छ। सबै औषधहरू कानुन बमोजिम रितपूर्वक नष्ट गरिएको प्रहरीको भनाइ छ।

यसअघि प्रहरीले विभिन्न अभियानका क्रममा यी लागुऔषधहरू बरामद गरेको थियो। अदालतको आदेशपछि आज सार्वजनिक रूपमा यी औषधहरू नष्ट गरिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्