३० जेठ २०८२, शुक्रबार
Tags

सशस्त्र प्रहरीको “सुरक्षित सीमा, सुरक्षित जीवन” कार्यक्रम सुरु, सात सीमावर्ती क्षेत्रमा सञ्चालन हुने

रणभूमी डेस्क आइतबार, जेठ २५, २०८२

विराटनगर / सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय, पकली सुनसरीद्वारा आयोजित तथा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको समन्वय र सहकार्यमा “सुरक्षित सीमा, सुरक्षित जीवन” कार्यक्रम सुरु गरिएको छ। विराटनगर–१६ स्थित श्री मिल्स माध्यमिक विद्यालयमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी थिए। आयोजक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले स्वागत गरेका थिए। कार्यक्रममा सहभागी अन्य विशिष्ट व्यक्तित्वहरूमा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी ईश्वर कार्की, राष्ट्रिय अनुसन्धान विभाग धरान सुनसरीका अनुसन्धान निर्देशक इन्द्र सिंह लामा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू तथा स्थानीय जनप्रतिनिधिहरू थिए।

विद्यालयका विद्यार्थी लक्षित उक्त कार्यक्रममा सीमा सुरक्षाको परिचय, सीमापार अपराध नियन्त्रण, लागूऔषध तथा मानव बेचबिखन नियन्त्रण, विपद् व्यवस्थापनलगायत विषयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सामाजिक संस्थाहरूले सचेतनामूलक कक्षा सञ्चालन गरेका थिए।

कार्यक्रम जेठ २५ देखि असार ४ गतेसम्म मोरङको रानी र रंगेली, झापाको काँकडभिट्टा र घेराबारी, इलामको बौद्धधाम र सुनसरीको देवानगंज, पाँचौं सिमर र लौकही गरी सात स्थानमा सञ्चालन हुनेछ।

नागरिक सहभागिता र स्थानीय सहकार्यमा आधारित कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीको टोलीले निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ, जनचेतना र सीपमूलक तालिमहरू सञ्चालन गर्ने योजना रहेको छ। गत आर्थिक वर्षमा कोशी प्रदेशमा २७ वटा सीमा विकास कार्यक्रम (BADP) र ५१९ वटा द्रुत प्रभाव परियोजना (QIP) सम्पन्न गरिएको जानकारी दिइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्