
रणभूमी डेस्क आइतबार, जेठ ३२, २०८२

हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिका-१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागूऔषधसहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घरमा तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम फेला पारी पक्राउ गरेको हो।
प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लास्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ।
राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।