
पवन शाह सोमबार, आषाढ ०१, २०८२

सुनसरी / सशस्त्र प्रहरी बल, नेपालले सुनसरीको धरानबाट करिब २१ सय किलोग्राम अवैध लागुऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ। कोशी लोकमार्ग अन्तर्गत धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट आइतबार प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल सुरक्षा बेस धरानका टोलीले विशेष सूचनाको आधारमा भेडेटारबाट धरानतर्फ गइरहेको उक्त ट्रकलाई रोकी जाँच गर्दा, तरकारी र अदुवाको बोराले छोपेर लुकाइएको ७० बोरा गाँजा फेला पारेको हो। साथै, ट्रकमा ३१ बोरा अदुवा र अन्य तरकारी पनि फेला परेको छ।
घटनास्थलमा ट्रक नियन्त्रणमा लिइएपनि चालकसहित यसमा संलग्न व्यक्तिहरू भने फरार भएका छन्। अहिले उनीहरूको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार भेडेटार क्षेत्रबाट गाँजाको तस्करी भइरहेको विशेष सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो। उनले भने, “ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा हाम्रो टोली सक्रिय भएको थियो, अन्ततः ट्रकसहित गाँजा बरामद गर्न सफल भयौं।”
बरामद गाँजाको परिमाण, ढुवानी विधि र संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको जनाएको छ।