०२ आषाढ २०८२, मंगलबार
Tags

पेस्तोल, अफिम र गाँजासहित एक जना पक्राउ

"गाउँको घरमै अफिमको भण्डार र विदेशी पेस्तोल!"

पवन शाह सोमबार, आषाढ ०१, २०८२

एक सामान्य गाउँघरमा लुकेको थियो लागुऔषध र हातहतियारको संसार। मकवानपुरको राक्सिराङस्थित राजु स्याङतानको घरबाट प्रहरीले बरामद गर्‍यो—इटालीबाट बनेको पेस्तोल, दुई थान कटुवा हतियार, करिब ३ किलो अफिम र २२ किलोभन्दा बढी गाँजा। अझ अचम्म त तब भयो जब छिमेकीको बारीमा समेत लुकाइएको अवस्थामा थप हातहतियार र लागुऔषध फेला पर्‍यो।

हेटौंडा / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ स्थित एक घरबाट पेस्तोल, लागुऔषध अफिम र गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले राजु स्याङतानको घरमा छापा मारेर ठूलो परिमाणमा हातहतियार र लागुऔषध बरामद गरेको हो।

पक्राउ परेका राजु स्याङतानको सुत्ने कोठाको सिरानी मुनि लुकाइ राखिएको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटली लेखिएको म्याग्जिनसहितको पेस्तोल १ थान, थप १ थान खाली म्याग्जिन, र १३ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी गोठको दोस्रो तलामा मकैको खोस्टा र पत्करबीच कपडामा बेरेर राखिएको झोलाभित्रबाट कटुवा पेस्तोल १ थान, ८ एमएम लेखिएको १२ राउण्ड गोली, अफिमजस्तो देखिने १ किलो ३१० ग्राम गिलो पदार्थ, र २२ किलो ८ सय ग्राम गाँजा फेला परेको छ।

प्रहरीका अनुसार, स्याङतानलाई नियन्त्रणमा लिएर लागूऔषध तथा हातहतियार सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

त्यस्तै, स्याङतानको घरबाट करिब ५०० मिटर टाढा रहेको चन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लास्टिकमा बेरी राखिएको सेतो बोराको झोलाभित्र लुकाइएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, ५ राउण्ड गोली, र अफिमजस्तो देखिने १ किलो ४८० ग्राम गिलो पदार्थ समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, बरामद हतियार तथा लागुऔषधका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। सुरक्षा स्रोतले यस घटनालाई संगठित अपराधको आशंका गर्दै अनुसन्धानलाई थप व्यापक बनाइएको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्