०२ आषाढ २०८२, मंगलबार
Tags

सुनसरीमा “सुरक्षित सीमा, सुरक्षित जीवन” अभियानअन्तर्गत सशस्त्र प्रहरीको स्वास्थ्य शिविर

पवन शाह मंगलबार, आषाढ ०२, २०८२

सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिकामा “सुरक्षित सीमा, सुरक्षित जीवन” अभियानअन्तर्गत सीमा सुरक्षा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी मुख्यालय, पकलीको आयोजना र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा असार २ गते सोमवार देवानगञ्ज-५ साहेबगञ्जस्थित अमरसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा २०१ जनाले सेवा लिएका छन्।

बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म चलेको कार्यक्रममा सीमावर्ती क्षेत्रका १०५ स्थानीयवासीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए भने ९६ विद्यार्थीले सीमा अपराध, लागूऔषध दुरुपयोग, महिला तथा बालबालिका बेचबिखन र विपद् व्यवस्थापन विषयक जनचेतनामूलक कक्षामा सहभागिता जनाएका थिए।

देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवको उपस्थितिमा सम्पन्न कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, स.प्र.ना.उ. हेम पौडेल, स.प्र.ना.उ. बिरेन्द्र खनाल, स.प्र.नि. डा. मदन कुमार यादव, बिराट टिचिङ अस्पतालका डा. विजय मेहता र माइती नेपालकी प्रतिनिधि गीता ज्ञवाली सहभागी थिए।

कार्यक्रममा ‘सीमा अपराध नियन्त्रण, निकासी/पैठारी तथा राजस्व चुहावट नियन्त्रण’ विषयमा सीमा सहजीकरण समितिका पदाधिकारी, स्थानीय बुद्धिजीवी, पत्रकार र सर्वसाधारण गरी १०० देखि १२० जनाको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम सकिएपछि गणपति स.प्र.उ. थापाले बीओपी कार्यालयको निरीक्षण गर्दै त्यहाँका सशस्त्र प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए।

यस कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकमा सुरक्षा, स्वास्थ्य र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित