
पवन शाह मंगलबार, आषाढ ०२, २०८२

काठमाडौं / आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर बोसनिया र मलेशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने, लमजुङको दोर्दी गाउँपालिका–५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका–१५ बस्ने, सर्लाहीको बरहथवा नगरपालिका–१ घर भएकी ३४ वर्षीया रूपी माया रहेका छन्।
प्रहरीका अनुसार, दिपेन्द्रले बोसनिया पठाइदिने भन्दै ६ जना पीडितबाट ७ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए। त्यस्तै, रूपी मायाले मलेशिया पठाइदिने प्रलोभन देखाएर ६ जना पीडितसँग ५ लाख ५७ हजार रुपैयाँ लिएको भन्ने उजुरीको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले दिपेन्द्रलाई आइतबार काठमाडौं महानगरपालिका–१६ बाट र रूपी मायालाई सोमबार काठमाडौं महानगरपालिका–१५ बाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले यस्ता किसिमका ठगीबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै थप अनुसन्धान जारी रहेको जनाएको छ।