
पवन शाह मंगलबार, आषाढ ०२, २०८२

काठमाडौं / सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गरेको आरोपमा बाग्लुङ निसिखोला गाउँपालिका–४ निवासी ३६ वर्षीय रेशम भन्ने रेशम राज पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
ड्राइभर पेशामा रहेका पौडेलले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा निरन्तर रूपमा व्यक्तिहरू तथा संस्थाहरूलाई लक्षित गर्दै तथ्यहीन, आधारहीन तथा आपत्तिजनक सामग्रीहरू प्रसारण गर्दै आएका थिए। ती सामग्रीहरूले सामाजिक रुपमा नकारात्मक धारणा फैलाउने कार्य गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) सँगको समन्वयमा नेपालगञ्ज रूपैडिया क्षेत्रबाट उनलाई सोमबार नियन्त्रणमा लिएको हो।
उनविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान सुरु गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप स्वीकृति प्राप्त गरी हाल थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीले सार्वजनिक मञ्चमा मर्यादाहीन र भ्रामक सूचना प्रकाशन तथा प्रसारण गर्ने कार्य कानुनविपरीत रहेको भन्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएको छ।