३१ आषाढ २०८२, बुधबार
Tags

२ बालिका र एक ५३ वर्षिय महिला जबरजस्ती करणीको सिकार, तीन जना पक्राउ

पवन शाह बिहिबार, आषाढ ११, २०८२

काठमाडौं / देशका विभिन्न तीन जिल्लामा जबरजस्ती करणीका घटनामा संलग्न भएको आरोपमा तीन जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरू बालिका तथा महिलाहरू रहेको र तीनै घटनामा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

कैलाली : कैलारी गाउँपालिका–८, लोहरपुर निवासी २३ वर्षीय लक्ष्मण बहादुर साउदलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बालिकाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले बुधबार दिउँसो साउदलाई नियन्त्रणमा लिएको हो ।

सुर्खेत : बीरेन्द्रनगर नगरपालिका–५, श्रीनगरटोलका १९ वर्षीय अरूण परियारलाई १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बुधबार बिहान परियारलाई पक्राउ गरेको हो ।

बारा : फेटा गाउँपालिका–३ निवासी २२ वर्षीय कृष्णा साह तुरहालाई ५३ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय छतवाबाट अनुसन्धान टोली खटिएको थियो ।

तीनवटै घटनामा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । पीडितहरूका स्वास्थ्य परीक्षणको प्रक्रिया समेत अघि बढाइएको छ भने अभियुक्तहरूलाई कानुनी कारबाहीको प्रक्रियामा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्