१३ आषाढ २०८२, शनिबार
Tags

बिराटनगरमा चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ

पवन शाह शुक्रबार, आषाढ १२, २०८२

बिराटनगर / बिराटनगर महानगरपालिकामा चोरी भएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत वैशाख २८ गते दिउँसो १२ बजेर ४५ मिनेटमा बिराटनगर महानगरपालिका वडा नम्बर २ हिमालयन बैंक अगाडी सडक किनारमा पार्किङ गरी राखेको को ३९ प ४१५० नम्बरको होण्डा साइन कम्पनीको मोटरसाइकल चोरी भएको थियो।

चोरी भएको मोटरसाइकलको हुलिया निवेदनको आधारमा खोजतलाश गर्ने क्रममा असार १२ गते साँझ ५ बजे कटहरी गाउँपालिका वडा नम्बर १ मा उक्त नम्बरको मोटरसाइकल किसन चौधरीले चलाउँदै गरेको अवस्थामा फेला परेको छ। प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्ति मोरङको बेलबारी नगरपालिका वडा नम्बर ६ बस्ने बतिराम चौधरीका छोरा ३७ वर्षीय किसन चौधरी रहेको खुलेको छ।

प्रहरीले चोरी मुद्दामा जाहेरी प्राप्त गरेको र प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको छ। मोरङ जिल्ला अदालतबाट म्याद थप भएको र थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्