१७ आषाढ २०८२, बुधबार
Tags

कटहरेमा ठुलो मात्रामा गाँजा बरामद: १ हजार ७४ किलो गाँजासहित ४ जना पक्राउ, ३ फरार

पवन शाह मंगलबार, आषाढ १६, २०८२

मकवानपुर / गाँजा उत्पादन तथा ओसारपसारमा संलग्न गिरोहमाथि प्रहरीले कारबाही गर्दै सोमबार ठूलो मात्रामा अवैध लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कटहरेमै रहेका गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घरमा सोमबार तलासी गर्दा ५४ वटा बोरामा भरिएको करिब १ हजार ७४ किलो २ सय ५० ग्राम गाँजा फेला परेको थियो। सोही क्रममा चार जनालाई पक्राउ गरिएको हो भने तीन जना भने फरार छन्।

प्रहरीले फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी कार्य तीव्र पारिएको जनाएको छ। साथै, यस घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित नेटवर्कको पहिचान तथा अनुसन्धान कार्य अगाडि बढाइएको छ।

प्रहरीले गाँजाको यो परिमाण ठूलो मात्रामा रहेको र यसले संगठित गिरोह सक्रिय रहेको आशंका बलियो बनाएको जनाएको छ। बरामद गरिएको गाँजा कानुनी प्रक्रिया पुरा गरी नष्ट गरिने बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्