
पवन शाह बिहिबार, आषाढ १८, २०८२

काठमाडौं / केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिक सहित ५२ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले गत असार १७ गते ललितपुर महानगरपालिका वडा नं. ४ वालिफल स्थित दमकल चोक र काठमाडौं महानगरपालिका वडा नं. १३ चागलबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूले ललितपुरमा एक घर भाडामा लिएर
सोसल सफ्टवेयर डेब्लपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरी गैरकानुनी रूपमा कल सेन्टर तथा मी टु (METOO) डेटिङ एप संचालन गरेका थिए। उनीहरूले काठमाडौंको चागलमा पनि एक घर भाडामा लिएर शाखाको रूपमा संचालन गरेका थिए।
प्रहरीका अनुसार उनीहरूले विभिन्न नेपाली युवतीहरूलाई प्रलोभनमा पारेर डेटिङ एप मार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेका थिए। पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको रु. १३,९९,९५० बरामद भएको छ।
पक्राउ परेका ५२ जनामध्ये मुख्य ६ जना चिनियाँ नागरिकहरूमाथि अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने बाँकी ४६ जनामाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।