
पवन शाह मंगलबार, आषाढ २३, २०८२

बिराटनगर / मोरङको धनपालथान गाउँपालिकामा प्रहरीले २५ किलो २५० ग्राम अवैध लागू औषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार, सोमबार राति ८:३० बजे धनपालथान गाउँपालिका वडा नं. २ पैटाम स्थित प्रहरी चौकी अमाहिबरियातीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको वि.आर. ३८ क्यू ५६८६ नम्बरको भारतीय सुपर स्पलेण्डर मोटरसाइकललाई शंका लागी रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको अररिया जिल्ला पहुँसी ग्राम पंचायत-२ निवासी २२ वर्षीय मोहमद ईर्सादले बोकेको प्लास्टिकको जेब्रा झोला भित्र राखिएको २५ किलो २५० ग्राम लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त व्यक्तिलाई गाँजा र मोटरसाइकल सहित नियन्त्रणमा लिई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याएको छ। उनीमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।