
पवन शाह बिहिबार, आषाढ २५, २०८२

विराटनगर / विराटनगरस्थित गोल्डेन हस्पिटल प्रा.लि.ले विभिन्न शल्यक्रिया सेवा न्यून शुल्कमा प्रदान गर्ने निर्णय गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक गरिएको उक्त योजनाअनुसार बिरामीहरूलाई कम खर्चमा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।
हस्पिटलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाईड्रोसिल, एपेन्डिक्स, पाइल्स, थाइराइड, हर्निया, सिजेरियन डेलिभरी, सामान्य डेलिभरी लगायतका शल्यक्रिया सेवा अब रु. ८,४९९ देखि रु. २४,९९९ सम्ममा उपलब्ध हुनेछन्। यस्तै, कानको जाली फुकाउने, मिर्गौलाको पत्थरी, प्रोस्टेट, टन्सिल, गन्जिएको शल्यक्रिया र पित्तथैलीको ल्याप्रोस्कोपिक शल्यक्रियाजस्ता सेवाहरू पनि कम शुल्कमा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।
हस्पिटलले अनुभवी विशेषज्ञ चिकित्सकमार्फत सेवा दिने जनाएको छ। साथै, ८० वर्ष माथिका नागरिकहरूलाई सेवा शुल्कमा विशेष छुट र आय स्रोत न्यून भएका परिवारलाई ७५ प्रतिशतसम्मको छुट उपलब्ध गराउने नीति पनि ल्याइएको छ।
गोल्डेन हस्पिटलले ‘स्वास्थ्य सेवा प्रत्येक नागरिकको अधिकार हो’ भन्ने नाराका साथ ‘छिटो उपचार र छिटो डिस्चार्ज’ नीति अपनाउँदै सेवा छिटो र सहज बनाउने बताएको छ।
हस्पिटलका अनुसार, शल्यक्रिया सेवामा पारदर्शिता, गुणस्तरीय उपचार र समयमै डिस्चार्जको व्यवस्था गरिनेछ। साथै, भविष्यमा पनि नागरिक हितमा केन्द्रित सामाजिक स्वास्थ्य कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।