
पवन शाह बुधबार, आषाढ ३१, २०८२

विराटनगर / मोरङ उद्योग व्यापार संघले आज पूर्व गृह मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई भेटघाट गरी उद्योग र व्यवसायीहरूका विद्यमान समस्याहरूको बारेमा अवगत गराउँदै तीनको समाधानका लागि सरकार समक्ष पहल गरिदिन ज्ञापन पत्र बुझाएको छ।
संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार साखा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायतका नेतृत्वमा गएको टोलीले पूर्व गृह मन्त्री खाँणलाई आगामी आर्थिक वर्ष २०८१/०८२का लागि सरकारले ल्याएको आर्थिक नीति र नीतिक नीति विगतका भन्दा अझै उद्योगमुखी रहेको बताउँदै स्वागत गरेको छ।
ज्ञापन पत्र बुझाउने क्रममा संघका निवर्तमान अध्यक्ष रिजालले नेपालको अत्यधिक बीमा प्रिमियम दर न्यूनीकरण गर्नुपर्ने, बीमाका अन्यायपूर्ण नीतिहरू खारेज गर्नुपर्ने, कराडीजन्य फलामको धुलो र ट्रकन सिराकाको निकासीमा लगाइएको भन्सार महसुल खारेज गर्नुपर्ने लगायतका विषयहरू जानकारी गराएका छन्।
त्यसैगरी संघका पूर्व अध्यक्ष पवन कुमार साखाले वायर रड उत्पादक उद्योगहरूको कच्चा पदार्थ एमएस वायर रडको भन्सार महसुलमा गरिएको छुट र अतिआवश्यकीय सूचिका लत्ता कपडाको आयातमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने बताएका छन्।
संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा लगाइएको २ प्रतिशत दिलासिता शुल्क तथा बहुमूल्य पत्थर जस्तै गहनाहरूमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको व्यवस्था खारेज गर्नुपर्ने लगायतका विषयहरूमा सुधारात्मक कदम चाल्न पूर्व गृह मन्त्रीलाई आग्रह गरेका छन्।
टोलीमा संघका वाणिज्य उपाध्यक्ष अनिल साखा, महासचिव सञ्जय कुमार श्रेष्ठ सहित संघका कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू र महिला उद्यम समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।