
रणभूमी सम्वाददाता शुक्रबार, भाद्र १९, २०८२

काठमाडौं / सामाजिक सञ्जालमा नक्कली (Fake) खाता खोली महिलामाथि अश्लील कुरा गर्ने, आपत्तिजनक भिडियो पठाउने र चरित्र हत्या गर्ने गतिविधिमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा सुनसरी जिल्ला, रामधुनी नगरपालिका–३ का दिनेश कार्की रहेका छन्।
पीडित महिलाहरूले उजुरी दिएपछि साइबर ब्युरोले आवश्यक अनुसन्धान अगाडि बढाएको थियो। त्यस क्रममा दिनेश कार्कीले नक्कली खाता प्रयोग गरी अश्लील सामग्री पठाउने, गलत आरोप लगाउने र चरित्र हत्या गर्ने कार्य गरेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको हो।
उनीमाथि इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। भदौ १९ गते पक्राउ परेका कार्कीलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ७ दिनसम्म थुनामा राखी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा आचारसंहिता पालना गर्न र कसैको मानहानि हुने गरी सामग्री पोस्ट वा पठाउन नहुने चेतावनीसमेत दिएको छ।