
रणभूमी सम्वाददाता शुक्रबार, भाद्र १९, २०८२

विराटनगर / १९ औं राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा मोरङको रानी–जोगबनी नाकामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा आफन्त नेपाल, माइती नेपाल, नव अभियान नेपाल, साना हातहरु नेपाल, साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र मानव अधिकार संजालले सामूहिक रुपमा सहभागिता जनाएका थिए। सयौं दीप प्रज्वलन गरेर सहभागीहरूले मानव बेचबिखनविरुद्धको प्रतिबद्धता व्यक्त गरेका थिए।
संस्थाका प्रतिनिधिहरूले सीमावर्ती क्षेत्रमा चेलीबेटी बेचबिखन अझै चुनौतीपूर्ण रहेको भन्दै स्थानीय समुदायदेखि सुरक्षाकर्मी र नागरिक समाजसम्म सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए। दीप प्रज्वलनमार्फत पीडित चेलीबेटीप्रति सम्झना र उज्यालो भविष्यको आशा व्यक्त गरिएको आयोजक संस्थाहरूले बताएका छन्।
यसअघि विराटनगरमा मानव बेचबिखन नियन्त्रण जिल्ला समितिको आयोजनामा सचेतनामूलक र्याली, सभा र छलफल कार्यक्रम सम्पन्न भएका थिए।