रणभूमी सम्वाददाता सोमबार, आश्विन ०६, २०८२
सुनसरी / सुनसरीको बर्जु गाउँपालिका–१, शुक्रवारेमा अवस्थित श्री नवदुर्गा भवानी मन्दिरमा यस वर्षको घटस्थापनाका दिन सात देवदेवीका मूर्तिहरू स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ। विगत ५८ वर्षदेखि माटोको प्रतिमा बनाएर पूजाआर्चना गर्दै आएका भक्तजनहरूले यसपटक स्थायी ढंगले मूर्ति स्थापना गरी नयाँ अध्याय सुरु गरेका हुन्।
विक्रम सम्वत् २०२३ सालमा स्थापना भएको श्री नवदुर्गा भवानी मन्दिरमा अहिलेसम्म माटोको प्रतिमा बनाएर दशैंको बेला पूजा गर्ने परम्परा रहँदै आएको थियो। स्थानीयवासीको पहल र धर्मप्रेमी समाजसेवीहरूको सहयोगमा यसपटक माता दुर्गा, लक्ष्मी, सरस्वती, शिव, पार्वती, गणेश र कार्तिक गरी सात वटा मूर्तिहरू खरिद गरी स्थापना गरिएको हो।
राजा ईटा उद्योग प्रालिका सञ्चालक मुन्ना कुमार झा ले मन्दिरमा सातवटा देवदेवीका मूर्तिहरू स्थापना हुनु ऐतिहासिक दिन भएको बताए। उहाँले भन्नुभयो, “विगत पाँच दशकभन्दा बढी समयसम्म यो ठाउँको स्थानीयहरूले माटोको मूर्तिमा पूजा गर्दै आएको इतिहासलाई अब स्थायी मूर्तिले नयाँ पहिचान दिएको छ। यो हाम्रो संस्कृति जोगाउने र भविष्यका पुस्तालाई आस्थासँग जोड्ने ठूलो कार्य हो।” विगतमा हरेक वर्ष दशैंमा नवदुर्गा पूजाका लागि नयाँ माटोको मूर्ति स्थापना गर्नुपर्ने प्रचलन थियो। यसले प्रत्येक वर्ष ठूलो धनराशि खर्च हुनुका साथै पूजापश्चात मूर्ति सेलाउनुपर्ने परम्परा थियो। तर अहिले स्थायी मूर्ति स्थापना भएपछि भक्तजनलाई आर्थिक बोझ कम हुनुका साथै धार्मिक आस्था र परम्परा दीर्घकालीन रूपमा सुरक्षित हुने विश्वास व्यक्त गर्दै उहाँले भने, “अब हाम्रा भविष्यका पुस्ताले पनि यही मूर्तिहरूमा श्रद्धा अर्पण गर्नेछन्।
झा लामो समयदेखि सामाजिक तथा धार्मिक क्रियाकलापमा सक्रिय रहँदै आएका छन्। उहाँको सक्रियता र सहयोगले स्थानीयवासीलाई यसपटकको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गर्न थप ऊर्जा मिलेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर मेहताले जानकारी दिँदै भने, “समितिको ९ सदस्य र ३ जना सल्लाहकारको सक्रियतामा यो ठूलो कार्य सम्पन्न गर्न सम्भव भयो। स्थानीय समाजसेवीको आर्थिक तथा आत्मीय सहयोगले मन्दिरलाई अझ व्यवस्थित बनाउन सहयोग पुगेको छ।”
मन्दिरमा दैनिक रूपमा भजन–कीर्तन हुने परम्परा रहिआएको छ। यसपटक मूर्ति स्थापना संगै घटस्थापनादेखि नै प्राण प्रतिष्ठा, कलश यात्रा, उराउँ झाँकी, भजन–कीर्तनलगायत धार्मिक कार्यक्रमहरू सुरु भएका छन्। नवरात्रदेखि वडा दशैंसम्म निरन्तर नित्य चण्डीपाठ हुने कार्यक्रम तय गरिएको छ।
स्थानीय भक्तजनहरूका लागि यो घटना विशेष महत्वको रूपमा लिइएको छ। उनीहरूका अनुसार, यसपटकको प्राण प्रतिष्ठाले दशैँ मात्र नभई वर्षभरि मन्दिरलाई जीवित धार्मिक केन्द्रका रूपमा सक्रिय बनाउने विश्वास गरिएको छ।