रणभूमी सम्वाददाता आइतबार, आश्विन १२, २०८२
विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
प्रहरी निरीक्षक राईले विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेका छन्। उनको नेतृत्वमा रहेको प्रहरी चेकिङ टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका-१५ स्थितबाट बन्दाकोपी बोकेको मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको २६२ किलो ५८० ग्राम गाँजा बरामद गरी ३ जना संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
यसैगरी उनको टोलीले विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट चोरी भएका ११ थान ल्यापटप, १ थान मोटरसाइकल, ३ थान अटो टेम्पो, १ थान सिटी रिक्सा, ४ थान स्कुटर, १४ थान १२ भोल्टका ब्याट्री, ३ थान इन्भर्टर, ४ थान सोफा, २ थान फ्रिज, १ थान एसी, १ थान इलेक्ट्रिकल ओभन, २ थान स्ट्यान्ड फ्यान र १ थान इन्डक्सन चुलो फेला पारी सम्बन्धित धनीहरूलाई बुझाएको थियो।
त्यसैगरी विराटनगर महानगरपालिका-१३ र १५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरोसँगको समन्वयमा ३३७ ग्राम लागू औषध ब्राउनसुगर सहित कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिन सफल भएको थियो।
प्रहरी निरीक्षक राईबाट सम्पादित यी उत्कृष्ट कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८२ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको हो।