
उर्मिला यादव (यात्री) सोमबार, आश्विन १३, २०८२

भैरहवा / मिथिलाञ्चल समाज रुपन्देही, सिद्धार्थनगर–६ भैरहवाले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान र झिझिया कार्यक्रम आयोजना गरेको छ।
समाजका अध्यक्ष अमर कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख शम्भु कुसियत यादव प्रमुख अतिथि रहनुभयो।
उद्घाटन गर्दै यादवले मिथिला संस्कृतिले नेपालको विविधतालाई सबल बनाउन योगदान गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार परम्परागत पर्वहरूले समाजमा एकता, सहयोग र सद्भाव प्रवर्द्धन गर्दै आएका छन्।
कार्यक्रममा अध्यक्ष झाले झिझिया पर्व मिथिलाञ्चलबाट सुरु भए पनि अहिले भैरहवासहित अन्य स्थानमा पनि मनाइने परम्परा बनेको बताए। उहाँले छिट्टै भैरहवामा सभाहल निर्माण गर्ने योजना सार्वजनिक गर्दै समाजलाई अझ संगठित र सांस्कृतिक चेतनायुक्त बनाउन निरन्तर कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समाजकी सचिव उषा पाठकले झिझिया पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदै यसले महिलाको सहभागिता र सामूहिक भावना बढाउने बताइन्।
मैथिल समाज नेपाल, बुटवलका सचिव मनोज कुमार मण्डलले संस्कृतिको जगेर्ना नयाँ पुस्तालाई जानकारी, शिक्षा र अभ्यासमार्फत मात्र सम्भव हुने धारणा राखे।
त्यस्तै समाजसेवी रिता साहले झिझियामा महिलाको अग्रणी भूमिकाले समाजलाई प्रगतिशील बनाउन सहयोग गरेको उल्लेख गरिन्।
बैश्य युवा समाज भैरहवाका अध्यक्ष तार्केश्वर कान्दुले युवालाई संस्कृति संरक्षणमा संलग्न हुन कार्यक्रमले प्रोत्साहित गरेको बताए।
समाजका वरिष्ठ उपाध्यक्ष अशोक कुमार शाहले स्वागत मन्तव्य राख्दै मिथिलाञ्चल समाजले पर्वमार्फत मेलमिलाप र भाइचारा बढाउन योगदान दिँदै आएको बताए।
महासचिव सियाराम यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा अञ्जली, मन्जु, दुर्गावती, जान्हवी झा, आरुषी झा, पुजा, निशा, चिम्की, सृष्टि पण्डित, आहुना, अनन्या, मिना शाह, लक्ष्मी महासेठ, मधु पण्डित, अनिता साह, रिन्कु महासेठ, बबिता झा, मिना कर्ण, हिना कर्ण, ममता कर्ण, रुवी कर्ण, अनिता कर्ण, तारादेवी यादव, जान्हवी मिश्र, सुजनी कर्णलगायत स्थानीय कलाकारले मिथिला संस्कृतिमा आधारित गीत–संगीत र नृत्य प्रस्तुत गरेका थिए। झिझिया नृत्य कार्यक्रममा विशेष आकर्षण बनेको थियो।
आयोजक समितिले कार्यक्रमलाई आगामी वर्षदेखि वार्षिक परम्परा बनाइने घोषणा गरेको छ।
कार्यक्रममा समाजका पदाधिकारी, विभिन्न संघ–संस्था, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, महिला, युवा र स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।