०८ कार्तिक २०८२, शनिबार
Tags

गृह मन्त्रालयको अपिल: धर्ना-जुलुस शान्तिपूर्ण बनाउन आग्रह, फागुन २१ मा निर्वाचन

रणभूमी सम्वाददाता बुधबार, आश्विन २२, २०८२

काठमाडौं / जेन-जी पुस्ताको अगुवाईमा भएको प्रदर्शनपछि मुलुकमा विकसित परिस्थितिका बीच गृह मन्त्रालयले शान्ति सुरक्षा कायम राख्न र फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्न सबै नागरिकसँग अपिल गरेको छ।

मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्ति सुरक्षाको अवस्था सामान्य बनाउन र निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न भनिएको छ।

मन्त्रालयले नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको जनाएको छ। धर्ना जुलुसलगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध गरिएको छ।

देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आम नागरिकको समेत अहम् दायित्व रहेको मन्त्रालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्