
रणभूमी सम्वाददाता बिहिबार, आश्विन २३, २०८२

विराटनगर / इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख प्रहरी नायब निरीक्षक सुभाष अधिकारी जिल्ला प्रहरी कार्यालय मोरङ सर्वा हुने भएपछि इलाका प्रहरी कार्यालय रानी प्रमुख कबिन राईले फेरि भेटौला कार्यक्रम आयोजना गरेको छ।
साढे सात महिनाको कार्यकाल पूरा गरी सर्वा हुन लागेका नायब निरीक्षक अधिकारीले अपराध न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएका छन्। उनले ज्यान मारेर फरार रहेका प्रतिवादीलाई सोही दिन पक्राउ गर्न सफल भएका थिए। यस्तै, कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका तथा अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरेका छन्।
नायब निरीक्षक अधिकारीले लागूऔषध दुर्व्यसन नियन्त्रण र जनचेतनामूलक कार्यक्रममा समर्पित भई काम गरेका थिए। भारतीय सुरक्षाकर्मीसँगको राम्रो सहकार्यका कारण उनले दर्जनभन्दा बढी हराएका र चोरी भएका सवारीसाधन फिर्ता ल्याउन सफल भएका थिए।
जेन्जी आन्दोलनका क्रममा आफ्नो कार्यालयलगायत भन्सार र आसपासका क्षेत्रमा ठूलो जोखिम न्यूनीकरण गर्न सफल भएका अधिकारी असोज १७ गते आएको बाढीको समयमा पनि उद्धार कार्यमा निरन्तर सक्रिय देखिएका थिए।
अधिकारीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कार्य सम्पादन गरेकाले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई श्रावण मनिनाको ‘पुलिस अफ द मन्थ’को सम्मानबाट सम्मानित गरेको थियो।
अधिकारीसँगै उनका सहयोगी प्रहरी सहायक निरीक्षक भिम खड्का पनि जिल्ला प्रहरी कार्यालय मोरङ सर्वा भइरहेका छन्। प्रहरी सहायक निरीक्षक खड्काको पनि रानी सीमामा सुरक्षा व्यवस्था र अपराध नियन्त्रणमा बराबर योगदान रहेको थियो।
फेरि भेटौला कार्यक्रममा भारतको अररिया जिल्ला जोगबनी थानाका थाना अध्यक्ष र सशस्त्र सीमा बल (एसएसबी)का बटालियन प्रमुखले समेत अधिकारीको कार्यशैलीको प्रशंसा गर्दै आगामी गन्तव्यमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्ने कामना सहित विदाई गरेका छन्।