
रणभूमी सम्वाददाता शनिबार, आश्विन २५, २०८२

इनरुवा / सुनसरीको इनरुवा नगरपालिका-४ बसपार्क चौकबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले असोज २४ गते साँझ ७ बजे चेकजाँचका क्रममा इनरुवा नगरपालिका-४ का ३३ वर्षीय कृष्ण कुमार मेहतालाई पक्राउ गरेको हो।
प्रहरीले मेहताको साथबाट १ सय ९७ दशमलव ६ ग्राम ब्राउन सुगर बरामद गरेको छ। बसपार्क चौक क्षेत्रमा नियमित रूपमा गरिएको चेकजाँचका क्रममा संदिग्ध अवस्थामा रहेका मेहतालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट लागू औषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मेहताविरुद्ध लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले मेहताबाट थप अनुसन्धान गर्दै लागू औषध ओसारपसार र बिक्री वितरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ।
लागू औषध कारोबार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानमा चेकजाँच तीव्र पारेको छ।