
रणभूमी सम्वाददाता आइतबार, आश्विन २६, २०८२

सुनसरी / सुनसरी जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका अवैध सामग्री प्रहरीले बरामद गरेको छ।
चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत परिचालित प्रहरी टोलीले चेकजाँचको क्रममा तीन फरक स्थानबाट ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो।
असोज २५ गते गढी गाउँपालिका–२ बाट को.१ ह ८१७० नम्बरको ओटो टेम्पोमा लुकाइछिपाई ल्याइएको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५०० पिस कुर्ता सुरुवाल प्रहरीले बरामद गरेको छ।
त्यस्तै, देवानगंज गाउँपालिका–४ बाट करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ९०० पिस कुर्ता सुरुवाल बरामद गरिएको छ।
यसैगरी, कोशी गाउँपालिका–७ बाट करिब ६३ हजार २८० रुपैयाँ मूल्य बराबरको खाद्यान्न सामग्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वको समयमा भन्सार छली गरी अवैध सामग्री भित्र्याउने क्रम बढ्ने भएकाले प्रहरीले चेकजाँच थप कडाइ गरेको जनाइएको छ। बरामद सामग्रीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।