२७ आश्विन २०८२, सोमबार
Tags

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

काठमाडौं / आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान्लाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा संखुवासभा खाँदबारी नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–७ गौरीघाटमा डेरा गरी बस्ने ३५ वर्षीय छिरिङ उर्फ तेन्जिङ शेर्पा रहेका छन्। उनले आफ्नै श्रीमती ४० वर्षीया बिमला तामाङ उर्फ अप्सरा कार्कीको हत्या गरेको आरोप लागेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट प्रारम्भिक अनुसन्धान गर्दै तेन्जिङलाई आइतबार नै पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीबीच वादविवाद हुँदा झगडा भएको र त्यसैक्रममा तेन्जिङले कुटपिट तथा ढुङ्गाले प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरणका लागि प्रहरीले थप अनुसन्धान जारी राखेको छ। हत्याको वास्तविक कारण र घटनाक्रमबारे प्रहरीले विस्तृत छानबिन गरिरहेको जनाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्