
रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका-४ स्थित बरगाछी चोकबाट अवैध रूपमा भारतबाट ल्याइएको सयपत्री फूलको माला र बेन्डिङ तार सहित एक पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइतबार करिब ११:४५ बजे प्रहरी चौकी बरगाछीबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा को २ च १६३४ नम्बरको पिकअप गाडीमा लुकाई छिपाई ल्याइएको सयपत्री फूल र तार बरामद गरेको हो।
प्रहरीले गाडीबाट अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको सयपत्री फूलको मालाडोरु र ७ हजार रुपैयाँ बराबरको ७० केजी बेन्डिङ तार बरामद गरेको छ। भारतबाट नेपालतर्फ लोड गरी ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. २ बस्ने ३६ वर्षीय सत नारायण यादवलाई नियन्त्रणमा लिएको छ। बरामद सामान र गाडीसहित यादवलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी, विराटनगर पठाइएको प्रहरीले जनाएको छ।