
रणभूमी सम्वाददाता बुधबार, आश्विन २९, २०८२

विराटनगर / धनपालथान गाउँपालिकामा एक बेवारिसे बालिका फेला परेकी छिन्।
मंगलवार साँझ पौने ७ बजे धनपालथान गाउँपालिका–६ कदमाहा बस्ने सम्भु प्रसाद यादवको उखुबारीमा करिब ६ देखि ७ महिनाको बालिका बेवारिसे अवस्थामा फेला परेकी हुन्। स्थानीयले बालिकालाई भेट्टाएपछि इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी गराएका थिए।
सूचना पाउनासाथ प्रहरी चौकी कर्सियाबाट प्रहरी व्यवस्थापक निरीक्षक नरेश कुमार आचार्यको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले बालिकालाई स्थानीय रामजान मियाँकी २४ वर्षीया श्रीमती सिजवना खातुनको संरक्षणमा राखेको छ।
गहुँगोरो रङ, सेतो जम्फर लगाएकी र आँखामा गाजल लगाएकी उक्त बालिकाको आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।
हराएको वा बेपत्ता भएको सन्तान भएको व्यक्तिले इलाका प्रहरी कार्यालय रंगेलीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्