१९ कार्तिक २०८२, बुधबार
Tags

लागूऔषधसहित २४ जना पक्राउ

रणभूमी सम्वाददाता मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं / नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष अभियानमार्फत अवैध लागूऔषधसहित २४ जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार लागूऔषध नियन्त्रण अभियान अन्तर्गत सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म काठमाडौं, सुनसरी, मोरङ, कास्की, झापा, बर्दिया, दाङ, कैलाली, सुर्खेत र कञ्चनपुरबाट पक्राउ गरिएको हो।

काठमाडौं महानगरपालिका–२० चीकमुगल डेरा गरी बस्ने दोलखा शैलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय सुवास बस्नेतलाई प्रहरीले कोठा तलासीका क्रममा चरेशजस्तो देखिने करिब ९९४ ग्राम पदार्थसहित नियन्त्रणमा लिएको छ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट ट्रामाडोल २१० ट्याब्लेट र रु. १ लाख ३ हजार नगदसहित लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङ पक्राउ परेका छन्। त्यस्तै, कोशी गाउँपालिका–१ लौकही बजारबाट ब्राउनसुगरजस्तो देखिने ९ ग्राम ९४० मिलिग्राम पदार्थसहित धादिङका विष्णु अधिकारी पक्राउ परेका छन्।

मोरङमा दुई स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। बेलबारी नगरपालिका–७ बाट ट्रामाडोल २८ ट्याब्लेटसहित १६ वर्षीय किशोर, र विराटनगर–१५ बाट ३ ग्राम १८० मिलिग्राम हेरोइनजस्तो पदार्थसहित १९ वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बाट ७ ग्राम ३४ मिलिग्राम हेरोइनजस्तो पदार्थसहित ६ जना, गणेश बहादुर बोहरा, मिलन भट्ट, रिदम भट्ट, हर्क देउवा, पारस जोशी र गणेश बिष्ट पक्राउ परेका छन्।

कास्कीको पोखरा–९ पृथ्वीचोकबाट ब्राउनसुगरजस्तो ४ ग्राम ५०० मिलिग्राम पदार्थसहित बिकास लामा र बिनोद ढकाल पक्राउ परेका छन्। झापाको मेचीनगर–६ मेचीपुलमा भने १७ ग्राम २०० मिलिग्राम हेरोइनसहित नुवाकोटका रामबहादुर तामाङ पक्राउ परेका छन्।

बर्दिया जिल्लामा गुलरिया नगरपालिका–११ गणेशपुरबाट ४ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर र रु. ११,५८० नगदसहित दुई जना पक्राउ परेका छन्।

त्यस्तै दाङको घोराही–१४ स्थित शिरिषा होटेलबाट १ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर र रु. ७ हजार नगदसहित निस्मत गुरुङ पक्राउ परेका छन्।

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ९९० मिलिग्राम हेरोइनसहित बर्दियाका धर्मेन्द्र आचार्यसहित दुई जना पक्राउ परेका छन्।

सुर्खेतको वीरेन्द्रनगरबाट पनि १५ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित तीन जना, हिमाल आले, सरोज ढकाल र प्रेम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका अनुसार, पक्राउ परेकासँग फेला परेका सबै लागूऔषध र नगद प्रमाणका रूपमा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्