रणभूमी सम्वाददाता आइतबार, कार्तिक २३, २०८२
काठमाडौं: सूचना प्रविधि तालिम प्रदान गर्दै आएको स्किल स्पार्कले महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरेको ‘स्किल स्पार्क च्याम्पियनसीप २०२५’ को ग्राण्ड फिनालेमा प्रवेश गर्ने १४ उत्कृष्ट टोलीको नाम सार्वजनिक भएको छ।
‘An Educated Women, A Transformed Nation’ भन्ने प्रेरणादायी विषयवस्तुसहित सञ्चालित यस भिडियो प्रतियोगिताले देशभरिबाट उल्लेखनीय सहभागिता पाएको थियो। निर्णायक समितिले विभिन्न चरणको कडा मूल्याङ्कनपछि अन्तिम फाइनलका लागि १४ टोलीलाई छनोट गरेको हो।
फाइनलमा प्रवेश गर्ने टोलीहरूमा टिम द शर्मा स्टुडियो, राइज चेतना, टिम आशा, टिम कुशुम रेग्मी, टिम प्रशान्त सापकोटा, टिम नमस्ते, टिम प्रकाश थापा, टिम सोसल आन्ट्स, टिम बटरफ्लाई, टिम निशु जोशी, टिम स्मृति बसेल, टिम प्रतिभा, टिम भिज्युअल भाइब र टिम सनम संस्कार रहेका छन्।
स्किल स्पार्कका संस्थापक श्रीजना झाले यो कार्यक्रमले महिला शिक्षामार्फत समाज परिवर्तनको सन्देश दिने बताइन्। “शिक्षित महिला भनेको परिवर्तित राष्ट्रको आधारशिला हो। यो प्रतियोगिताले युवा प्रतिभालाई मञ्च प्रदान गर्दै सृजनात्मकतालाई प्रोत्साहित गर्ने हाम्रो उद्देश्य छ,” झाले भनिन्।
उनले थपिन्, “हामीले आईटी सीप र महिला सशक्तीकरणलाई जोड्दै नयाँ पुस्तालाई डिजिटल युगमा अगाडि बढ्ने अवसर सिर्जना गर्न चाहेका छौं। जब एउटी महिला शिक्षित हुन्छिन्, त्यसले सम्पूर्ण परिवार र समाजलाई उज्यालो बनाउँछ। यो च्याम्पियनसीप त्यही परिवर्तनको सुरुवात हो।”
प्रतियोगिताको निर्णायक समितिमा लियो मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका अध्यक्ष अस्मिता लामिछाने, प्रेरणादायी वक्ता तथा मिडिया व्यक्तित्व सङ्गम महत, जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष रजनी थापा, काठमाडौं फिल्म्सका निर्देशक शंकर कार्की र क्यान फेडरेशनका उपाध्यक्ष श्रीजना श्रेष्ठ रहनुभएको छ।
विविध क्षेत्रका अनुभवी व्यक्तित्वहरू समेटिएको निर्णायक मण्डलले प्रतियोगितामा गुणस्तरीय मूल्याङ्कन र दिशानिर्देश प्रदान गरेको आयोजकले जनाएको छ।
कात्तिक २८ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने ग्राण्ड फिनालेमा यी १४ टोलीले आफ्नो सृजनात्मकता र सीपको प्रस्तुति दिनेछन्। प्रतियोगिताबाट महिला शिक्षा र सशक्तीकरणको सन्देश समाजमा व्यापक रूपमा फैलिने आयोजकको विश्वास छ।
युवा प्रतिभालाई उचित मञ्च र अवसर प्रदान गर्ने यस्ता कार्यक्रमले डिजिटल युगमा सृजनशीलता र सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।