२६ कार्तिक २०८२, बुधबार
Tags

सीमा सुरक्षा र क्वारेन्टाइन कार्यालयबीच समन्वय बढाउने सहमति

रणभूमी सम्वाददाता मंगलबार, कार्तिक २५, २०८२

बिराटनगर / पशु तथा कृषि क्वारेन्टाइन कार्यालय र सीमामा परिचालित सुरक्षा निकायहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले मंगलबार सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पशु क्वारेन्टाइन तथा कृषि क्वारेन्टाइन कार्यालय मोरङ्गका प्रतिनिधिहरूको आतिथ्यतामा आयोजित कार्यक्रममा मोरङ र सुनसरीका सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेन्टाइन कार्यालयका १२ जना अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

वरिष्ठ पशु चिकित्सक बिदुर प्रसाद गौतम र बाली संरक्षण अधिकृत संगम भट्टराईको नेतृत्वमा सम्पन्न बैठकमा सीमाबाट सर्ने पशु तथा कृषिजन्य रोगको जोखिम र रोकथामका विषयमा विस्तृत छलफल भएको छ।

बैठकमा नं. ४ गण हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी नायब उपरीक्षक मातृका पौडेल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गका विकाश खतिवडा, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राई, बीओपी दरैया मोरङ्गका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहाल, बीओपी जहदा भुटाहा मोरङ्गका फणिन्द्र घोले, बीओपी अमडुवा सुनसरीका रविन खड्का, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका तारानाथ गौतम, इलाका प्रहरी कार्यालय रानी सीमाका प्रहरी नायब निरीक्षक सन्तोष कुमार निरौला, बीओपी मधुमल्ला मोरङ्गका सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन शिवाकोटी, र एफओबी बखी मोरङ्गका प्रकाश दाहाल लगायतको सहभागिता रहेको थियो।

बैठकले सीमानाकामा परिचालित सुरक्षा निकायका कर्मचारीहरूलाई क्वारेन्टाइन सम्बन्धी छोटो तालिम दिने र क्वारेन्टाइन कर्मचारीहरूलाई सुरक्षा तथा आपतकालीन प्रतिक्रिया सम्बन्धी प्रशिक्षण प्रदान गर्ने विषयमा सहमति जनाएको छ। यस्तै संयुक्त अभ्यास आयोजना गर्ने योजनासमेत बनाइएको छ।

सीमावर्ती बस्तीहरूमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने र पशु तथा कृषिजन्य वस्तुको आयात-निर्यातका कानुनी प्रावधानबारे जानकारी प्रसार गर्नेसमेत निर्णय भएको छ।

बैठकले सशस्त्र प्रहरी र क्वारेन्टाइन कार्यालयबीच नियमित समन्वय संयन्त्र स्थापना गर्ने र साझा कार्ययोजना मस्यौदा तयार गर्ने सहमति गरेको छ। यस्तै आगामी सहकार्यका लागि सम्पर्क बिन्दु तोकिने निर्णय भएको छ। बैठकले क्वारेन्टाइन प्रक्रियामा सूचना आदान-प्रदान प्रणालीलाई प्रभावकारी बनाउनेसमेत जोड दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्