रणभूमी सम्वाददाता बिहिबार, कार्तिक २७, २०८२
जोगवनी / भारत-नेपाल सीमा क्षेत्रमा बुधबार एसएसबी ५६ बटालियन पत्थरदेव क्याम्पका अधिकारी तथा जवानहरूले ५० ग्राम स्म्याकसहित दुई जना युवकलाई पक्राउ गरेका छन्।
पक्राउ परेका दुवै युवक मोटरसाइकलमा भारतीय सीमा क्षेत्रबाट नेपालतर्फ जाँदै गरेको अवस्थामा समातिएका हुन्। एसएसबीको विशेष गस्ती टोलीले देखेपछि दुवै युवकले मोटरसाइकललाई तीव्र गतिमा भगाउन थालेपछि गस्ती टोलीलाई शंका लागेको थियो। त्यसपछि गस्ती टोलीले मोटरसाइकलको पिछा गर्न थाल्यो।
एसएसबीले पिछा गरेको देखेपछि मोटरसाइकल चालकहरूले मन्दिर नजिकै बाँसको झाडीमा मोटरसाइकल फालेर नेपालतर्फ भाग्न खोजेका थिए। यसै क्रममा गस्ती टोलीका जवानहरूले भारत-नेपाल सीमा नजिकै पानीमा हाम फालेर घेराबन्दी गरे र त्यहाँ उपस्थित स्थानीयहरूको सहयोगमा दुवैलाई पक्राउ गरे।
पक्राउ परेका युवकहरूमा भारतको फारबिसगंज आमहारा निवासी राहुल कुमार मण्डल र नेपालको साहेबगंज, सुनसरी निवासी रूपेश कुमार रहेको बताइएको छ। एसएसबीले दुवै युवकलाई बथनाहा थाना प्रहरीलाई बुझाएको जानकारी दिएको छ।