०३ मंसिर २०८२, बुधबार
Tags

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ ले उपाधि जित्यो

रणभूमी सम्वाददाता मंगलबार, मंसिर ०२, २०८२

काठमाडौं / “एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन” भन्ने संदेशसहित एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा सफलतापूर्वक पूरा भयो। प्रतियोगितामा ‘राइज चेतना’ पहिलो, ‘टिम बटरफ्लाई’ दोस्रो र ‘टिम नमस्ते’ तेस्रो बने। विजेता टोलीहरूले क्रमशः पचास, पैँतीस र बीस हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी, द आरकेएस उपहारको गिफ्ट ह्याम्पर र स्किल स्पार्कका सबै तालिममा पचास प्रतिशत छुट पाए।

प्रि–इभेन्टमा ‘टिम फिनिक्स’ले प्रभावकारी प्रस्तुति दिँदै पाँच हजार रुपैयाँ, ब्रान्डेड इयरबड, प्रमाणपत्र, ट्रफी र तालिममा छुट पाउँदै विजेता बन्न सफल भयो।

कार्यक्रमकी मुख्य अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मागरले महिला शिक्षा राष्ट्र रूपान्तरणको मूल आधार भएको बताइन्। उनका अनुसार घरदेखि समाज र राष्ट्रसम्मको परिवर्तन शिक्षित महिलाबाट सम्भव हुन्छ, त्यसैले महिलालाई पढाइबाट टाढा राख्ने सबै अवरोध हटाउन राज्य र समाज दुवैले गम्भीर प्रयास गर्न आवश्यक छ।

विशिष्ट अतिथि राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले महिला शिक्षाबारे बहसभन्दा बढी अब प्रत्यक्ष कार्यान्वयन जरुरी भएको बताए। उनले महिलालाई अघि बढ्न नदिने कारणहरू स्पष्ट पहिचान गरेर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

युवा नेतृ ममता शर्माले एउटी महिला शिक्षित हुँदा एक पुस्ता नै शिक्षित हुने भन्दै महिला शिक्षा विकासको मुख्य ढोका भएको उल्लेख गरिन्। उनले युवाहरूले प्रतिस्पर्धामा देखाएको आत्मविश्वासले समाजमा सकारात्मक ऊर्जा प्रवाहित भएको पनि भनाइ राखिन्।

एलबीइएफका प्रमुख सञ्चालक अधिकृत सुनिल ओझाले स्किल स्पार्कले युवाहरूको क्षमता पहिचान गर्दै देशका लागि सीपयुक्त जनशक्ति तयार गर्न महत्वपूर्ण योगदान गरिरहेको बताए। निर्णायकहरूको भूमिकामा कमला पन्थी, सृजना श्रेष्ठ, हरिराम रिमाल, संगम महत र अस्मिता लमिछाने थिए। उनीहरूले सहभागीको परिपक्वता, प्राविधिक सीप, नेतृत्व क्षमता र टीमवर्कको विशेष प्रशंसा गरे। उनका अनुसार युवाहरूको प्रस्तुतिले नेपालको भविष्य सुरक्षित हातमा रहेको आशा दिलायो।

आयोजक तथा स्किल स्पार्ककी संस्थापक ई. सिर्जना झाले सहभागी हुनुलाई नै जितको प्रतीक बताउँदै, युवाहरूको मेहनत र प्रतिबद्धताले सीप–आधारित शिक्षा तथा अवसर विस्तार गर्ने संस्थाको उद्देश्यलाई अझ मजबुत बनाएको टिप्पणी गरिन्।

च्याम्पियनशिपको मुख्य सन्देश स्पष्ट थियो—शिक्षित महिला परिवारदेखि राष्ट्रसम्म सकारात्मक परिवर्तन ल्याउन सक्षम हुन्छिन्। कार्यक्रमले युवाहरूलाई सिर्जनशीलता, नेतृत्व, प्रविधि र सामाजिक जिम्मेवारीप्रति झनै प्रेरित बनाएको देखियो।

स्किल स्पार्कले आईटी तथा पेशागत तालिमसँगै इन्टर्नसिप र रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ। महिला सशक्तीकरण, आर्थिक स्वतन्त्रता र प्रविधि–मैत्री समाज निर्माण गर्ने लक्ष्यासहित गरिएको प्रयासले सकारात्मक परिवर्तनको अपेक्षा राखिएको छ।

कार्यक्रमको टाइटल स्पोन्सर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन थियो। हिमालय कलेज अफ इन्जिनियरिङ, डायनामिक टेक्नोसफ्ट र द आरकेएस उपहार प्रायोजकका रूपमा रहे। टेक्नोलोजी पार्टनर टेक्नोस्पायर र कन्सल्टेन्सी पार्टनर करियर क्याटालिस्ट रहेका थिए।

यहाँ कमेन्ट गर्नुहोस्