रणभूमी सम्वाददाता मंगलबार, मंसिर ०२, २०८२
बिराटनगर / प्रहरीले बिराटनगरमा लागुऔषध ओसारपसार गरिरहेका चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दुईवटा छुट्टाछुट्टै अपरेशनमा तीन सय ग्राम बढी हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो साढे पाँच बजे बिराटनगर महानगरपालिका वडा नं. १३ स्थित सडकको छेउमा संदिग्ध अवस्थामा कुराकानी गरिरहेका दुई जनालाई नियन्त्रणमा लिएको थियो। को १४ प ४५८७ नम्बरको मोटरसाइकलमा रहेका बिराटनगर महानगरपालिका-८ बस्ने २८ वर्षीय अजय कुमार मुखिया र महानगरपालिका-१६ बस्ने १७ वर्षीय अजय कुमार राउतलाई चेकजाँच गर्दा मुखियाको साथबाट १४०.१८ ग्राम हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सोही दिन राति साढे आठ बजे बिराटनगर महानगरपालिका-११ बसपार्क स्थित सडकमा गरिएको अर्को अपरेशनमा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। भारतको बिहार राज्य अररिया जिल्ला फारबिसगंज कोहलिया बस्ने २८ वर्षीय मो. मोजाहितले लगाएको जम्परमा लुकाएको अवस्थामा १५२ ग्राम हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीसँगै रहेका अररिया जिल्ला फारबिसगंज पलासी बस्ने २० वर्षीय राज कुमार दासलाई पनि नियन्त्रणमा लिएको छ।
प्रहरीले सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।