रणभूमी सम्वाददाता बिहिबार, पुष २४, २०८२
विराटनगर / विराटनगर–जोगवनी सडक खण्डमा मेटिँदै गएको जेब्रा क्रसिङका कारण पैदल यात्रु, विशेषगरी विद्यार्थी र सर्वसाधारणलाई सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र ट्राफिक प्रहरी पोष्ट रानीले सक्रियता देखाएका छन्।
ट्राफिक प्रहरी पोष्ट रानी प्रमुख प्रहरी नायब निरीक्षक रुपचन चौधरीको नेतृत्वमा डीएभी स्कुलको सहयोगमा मेटिएको जेब्रा क्रसिङ पुनः पेन्ट गरी पुनर्निर्माण गरिएको हो। लामो समयदेखि स्पष्ट नदेखिने जेब्रा क्रसिङका कारण सवारी साधन र पैदल यात्रुबीच समन्वय नहुँदा जोखिमपूर्ण अवस्था सिर्जना हुँदै आएको थियो।
ट्राफिक प्रहरीका अनुसार पैदल यात्रुलाई सुरक्षित रुपमा बाटो काट्न सहयोग पुर्याउने मुख्य माध्यम जेब्रा क्रसिङ भए पनि यसको संरक्षण र नियमित मर्मत आभाव हुँदा दुर्घटनाको सम्भावना बढ्ने गर्दछ। सोही जोखिमलाई मध्यनजर गर्दै विराटनगर–जोगवनी सडक खण्डका तीन महत्वपूर्ण स्थानमा जेब्रा क्रसिङ पुनर्निर्माण गरिएको हो।
पुनर्निर्माण गरिएका स्थानहरूमा
डीएभी स्कुल अगाडि, हनुमान मन्दिर अगाडि र ईलाका प्रहरी कार्यालय रानी विराटनगर अगाडि पर्ने क्षेत्र समावेश छन्।
यस कार्यमा डीएभी स्कुलका प्रधानाध्यापक रमेश मिश्रासहित विद्यालय परिवारले आवश्यक सहयोग प्रदान गरेको ट्राफिक प्रहरीले जनाएको छ। विद्यालय व्यवस्थापन, प्रहरी र समुदायबीचको सहकार्यले सडक सुरक्षा सुधारमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताइएको छ।
जेब्रा क्रसिङ पुनर्निर्माणसँगै ट्राफिक प्रहरी पोष्ट रानीले विद्यालयका विद्यार्थी बालबालिकालाई लक्षित गर्दै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई सुरक्षित रुपमा सडक पार गर्ने तरिका, ट्राफिक संकेतको महत्व, अनुशासन र सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो।
प्रहरी नायब निरीक्षक चौधरीले सडक दुर्घटना न्यूनीकरणका लागि संरचना मात्र होइन, जनचेतना पनि उत्तिकै आवश्यक रहेको बताउँदै बालबालिकामै ट्राफिक संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आगामी दिनमा पनि विद्यालय, समुदाय र विभिन्न संघसंस्थासँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दा र अभिभावकहरूले ट्राफिक प्रहरीको यस पहलले विद्यार्थी र सर्वसाधारणको सुरक्षामा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। सडक सुरक्षाका लागि सम्बन्धित निकाय, विद्यालय र समुदाय सबैको साझा प्रयास आवश्यक रहेको सन्देशसहित यो कार्यक्रम सम्पन्न भएको छ।