रणभूमी सम्वाददाता सोमबार, पुष २८, २०८२
विराटनगर / तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले यस वर्षको नियमित वनभोज कार्यक्रम माघ ३ गते शनिबार सुन्दरहरैचा–४ स्थित गोदावरी फन पार्कमा आयोजना गर्ने निर्णय गरेको छ।
समाजले वनभोजलाई केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई आपसी माया, सहयोग र एकताको जीवन्त अभिव्यक्ति भएको उल्लेख गरेको छ। कार्यक्रममार्फत समाजको वर्तमान अवस्थाको मूल्याङ्कन गर्नुका साथै आगामी दिनका लागि स्पष्ट दिशा तय गर्ने अवसर मिल्ने विश्वास लिइएको छ।
कार्यक्रममा समाजका बालबालिका र जेष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको छ। १२ वर्षसम्मका बालबालिका तथा ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको समाजले जनाएको छ। अन्य सहभागीहरूका लागि प्रति व्यक्ति ५०० रुपैयाँ शुल्क तोकिएको छ।
वनभोज कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन वनभोज संयोजक शत्रुधन साहको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिले जिम्मेवारीपूर्वक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।
समाजले आपसी प्रेम, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस वनभोज कार्यक्रममा सबै सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।