३० पुष २०८२, बुधबार
Tags

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने पाँच जना पक्राउ

रणभूमी सम्वाददाता बुधबार, पुष ३०, २०८२

काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सोमबार र मंगलबार गरेको अभियानमा यी ठगहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा सुनिता ईधिङगो लिम्बु, अभिशेष कराला, चेतनारायण आचार्य, रेशम लाल लामा तामाङ र निलिमा श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार सुनिताले युएई, अभिशेषले माल्दिभ्स, चेतनारायण र निलिमाले बेलायत तथा रेशमले अमेरिका पठाइदिने भन्दै पीडितहरूबाट करोडौं रुपैयाँ असुली गरेका थिए। सुनिताले १ लाख ५० हजार, अभिशेषले ३ लाख ४० हजार, चेतनारायणले १३ लाख ६० हजार, रेशमले ९ लाख र निलिमाले १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरी परेको थियो।

पीडितहरूको उजुरीको आधारमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यस प्रकारको ठगी घटना बढ्दै गएकाले प्रहरीले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई मान्यता प्राप्त म्यानपावर कम्पनी मार्फत मात्र प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्