०२ माघ २०८२, शुक्रबार
Tags

३३ केजी सुन प्रकरणका फरार अभियुक्त पक्राउ

रणभूमी सम्वाददाता शुक्रबार, माघ ०२, २०८२

विराटनगर / अपहरण, शरीर बन्धक तथा ज्यान सम्बन्धी कसूरमा आठ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, मकवानपुरको हेटौंडा उप-महानगरपालिका वडा नम्बर १७ बस्ने ३३ वर्षीय सुरेन्द्र गौतमलाई माघ १ गते काठमाडौंबाट पक्राउ गरिएको हो।

यो प्रकरण २०७४ मंसिर ३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएको थियो। जाहेरवाला संजिव शाक्यले नेपाल सरकार वादी र गोरे भन्ने चुडामनी उप्रेती समेत ६३ जना प्रतिवादी रहेको उजुरी दिएका थिए। यो प्रकरण ३३ केजी सुनसँग सम्बन्धित रहेको बताइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त सहकार्यमा गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गौतमलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङ, विराटनगर बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्