रणभूमी सम्वाददाता शनिबार, माघ ०३, २०८२
काठमाडौँ / नेपाली कांग्रेसले कारबाही माफी वा मिनाहा पाएका व्यक्तिहरूको क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णय संशोधन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ३० गते बसेको बैठकले यसअघि केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गते बसेको बैठकबाट भएका निर्णयहरू अनुमोदन गर्दै निर्णय नम्बर १ (ख) मा उल्लेख गरिएको विषय संशोधन गर्ने निर्णय गरेको हो।
संशोधित निर्णयअनुसार कारबाही माफी वा मिनाहा पाएका व्यक्तिहरूले पार्टीभित्र बहाल रहेको पद यथावत् कायम राख्नेछन्। साथै उनीहरूको क्रियाशील सदस्यताको निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।
यससँगै पार्टी संगठनभित्र देखिएका अन्योल र विवाद समाधान गर्दै संगठनात्मक एकता मजबुत बनाउने उद्देश्य रहेको कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयले उक्त निर्णय कार्यान्वयनका लागि सबै प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा कार्यसमितिलाई आवश्यक निर्देशनसमेत दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले बैठकको निर्णय तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै तहका कार्यसमितिलाई अनुरोध गरेको छ।