रणभूमी डेस्क आइतबार, माघ २५, २०८२
विराटनगर / मोरङ क्षेत्र नम्बर ४ का निवर्तमान सांसद तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अमन लाल मोदीको कार्यकालमा आवास, पूर्वाधार र सामाजिक सेवा क्षेत्रमा उल्लेख्य काम भएको छ। उनका पहलमा सञ्चालन भएका योजनाहरूले स्थानीय बासिन्दाको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउन थालेको छ।
‘खरको छानो विस्थापित’ अभियान अन्तर्गत ग्रामथान गाउँपालिका–७ का ८० भूमिहीन परिवारका लागि पक्की घर निर्माण गरिएको छ। यसैगरी विभिन्न वडामा रहेका १ हजार १०३ परिवारका परालका छाना हटाएर जस्तापाता जडान गरिएको छ।
पूर्वाधारतर्फ मोतीपुर–बेलबारी सडक तथा बाहुनी–कटहरी बजार जोड्ने सडक कालोपत्रे गरिएको छ। लोहन्द्रा र खरबन्ना खोलामा पक्की पुल र तटबन्धन निर्माण भएपछि यातायात सहज हुनुका साथै कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ।
शिक्षा क्षेत्रको सुधारका लागि पोखरिया माध्यमिक विद्यालय, श्रीदेवी माध्यमिक विद्यालय तथा धनपालथान क्षेत्रका विद्यालयहरूमा नयाँ भवन निर्माण, कम्प्युटर ल्याब स्थापना र छात्रावासको व्यवस्था गरिएको छ।
कोरोना महामारीका बेला कोसी कोभिड अस्पतालका लागि बजेट विनियोजन गर्नुका साथै विपन्न परिवारलाई राहत वितरण गरिएको थियो। लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने अभियान र सामुदायिक भवन निर्माणका काम पनि सम्पन्न भएका छन्।
कृषक लक्षित कार्यक्रमअन्तर्गत सिँचाइ सुधार, मल–बिउको सहज उपलब्धता र स्थानीय कृषि बजार व्यवस्थापनमा पहल गरिएको छ। विद्युतीकरण र नाला निर्माणले क्षेत्रको आधारभूत पूर्वाधार थप मजबुत बनेको छ।
आफ्नो कार्यकालबारे बोल्दै अमन लाल मोदीले सधैं जनताकै बीचमा रहेर काम गरेको र संसदमा क्षेत्रका समस्या निरन्तर उठाएको बताएका छन्। अधुरा विकास आयोजना पूरा गर्दै क्षेत्रको समग्र समृद्धिका लागि पुनः उम्मेदवारी दिएको उनले जानकारी दिएका छन्।