२६ माघ २०८२, सोमबार
Tags

कृषि,शिक्षा र स्वास्थ्यलाई प्राथमिकता: शिवकुमार मण्डलको चुनावी प्रतिबद्धता, मोरङ–५को विकास खाका सार्वजनिक

रणभूमी सम्वाददाता आइतबार, माघ २५, २०८२

विराटनगर / मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिवकुमार मण्डलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आवास, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका मण्डलले क्षेत्रको दीर्घकालीन विकासका लागि ठोस योजना अघि सारेका हुन्।

प्रतिबद्धता पत्रमा अव्यवस्थित सुकुम्बासी परिवारलाई सुरक्षित र व्यवस्थित बसोबासको व्यवस्था गर्न ‘सुरक्षित जनता आवास’ कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ। साथै क्षेत्रका किसानलाई समयमै पर्याप्त खाद्य मल र बिउ उपलब्ध गराउन आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ।

बाढी समस्याको स्थायी समाधानका लागि लोहन्द्रा, बक्राहा, सिंघिया र केशलिया खोलामा तटबन्ध निर्माण गरिने योजना समेटिएको छ। किसानको सिँचाइ समस्या समाधान गर्न नहर, शाखा नहर तथा डिप बोरिङको उचित व्यवस्थापन गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ।

रोजगारी सिर्जनाका लागि बन्द भएका उद्योग पुनः सञ्चालन गर्न पहल गर्ने र औद्योगिक करिडोर विकासको कामलाई अघि बढाइने मण्डलले बताएका छन्। शिक्षा क्षेत्रको सुधारका लागि क्षेत्रभित्र रहेका सार्वजनिक तथा सामुदायिक विद्यालयको स्तर उकास्दै नमुना विद्यालयको रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सार्वजनिक अस्पताल, स्वास्थ्य चौकी तथा उपचार केन्द्रको स्तरोन्नतिका लागि पहल गरिने उल्लेख छ। साथै मधेसी, जनजाति, दलित तथा अल्पसंख्यक समुदायहरूको सांस्कृतिक र ऐतिहासिक पहिचान संरक्षणका लागि संग्रहालय र सामुदायिक भवन निर्माण गर्ने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ।

उम्मेदवार मण्डलले प्रतिबद्धता पत्रमार्फत जनताको आवश्यकता र क्षेत्रको यथार्थलाई बुझेर विकासका काम अघि बढाउने बताएका छन्। उनले जनमुखी विकास र समावेशी समृद्धि नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्