२७ माघ २०८२, मंगलबार
Tags

भारतबाट अवैध रूपमा ल्याइएका दुई ट्रक कपडा सहित चालक पक्राउ

रणभूमी सम्वाददाता सोमबार, माघ २६, २०८२

विराटनगर / भारतबाट अवैध रूपमा कपडा भित्र्याउँदै आएका दुई वटा ट्रकसहित दुई जना चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २०८२ माघ २५ गते साँझ करिब ७ बजे विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित रानी रोडसेस सडकखण्डमा नेपाल टेलिकम अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेका ट्रकहरू चेकजाँचका क्रममा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारीका अनुसार जाँचका क्रममा विराटनगर महानगरपालिका वडा नम्बर १ निवासी वर्ष ४४ का शिवराम पोडेलले चलाएको प्र.३–०१–००४ ख ४८५४ नम्बरको ट्रक र रामधुनी नगरपालिका वडा नम्बर १० निवासी वर्ष ३७ का कुमार बुढाथोकीले चलाएको प्र.३–०१–००६ ख ९३०६ नम्बरको ट्रकमा लत्ताकपडाका सामानहरू लोड गरिएको अवस्थामा फेला परेका थिए।

प्रारम्भिक अनुसन्धानमा ती कपडाका सामानहरू बिल बिजकभन्दा बढी परिमाणमा रहेको र कम मूल्यांकन गरी राजस्व छल्ने उद्देश्यले ल्याइएको आशंका गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ट्रकमा लोड गरिएका लत्ताकपडाको अनुमानित मूल्य एक करोड एकासी लाख छब्बीस हजार सातसय रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।

घटनासँग सम्बन्धित दुवै ट्रक, लोड गरिएका कपडाका सामान तथा दुई जना चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको सूचना अधिकारीले जानकारी दिएका छन्।

प्रहरीले सीमा क्षेत्र हुँदै हुने अवैध तस्करी नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँचलाई थप कडा बनाइएको समेत जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्