रणभूमी सम्वाददाता मंगलबार, माघ २७, २०८२
विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले अवैध हतियार, ह्याण्डसेट र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ माघ २७ गते बेलुका करिब ५:०० बजे मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २, बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बूको घरमा अवैध हतियार लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी तथा प्रहरी चौकी गछियाबाट खटिएको टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा सिलास लिम्बूको घरको भुइँतलाको कोठाबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल थान–१, भरुवा बन्दुकजस्तै देखिने काठको हतियार थान–१ र ‘बोडिङ्ग’ लेखिएको ह्याण्डसेट थान–२ फेला परेको प्रहरीले जनाएको छ।
प्राथमिक अनुसन्धानका क्रममा उक्त हतियारहरू सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय प्रेम बहादुर गुरुङले ल्याएको भन्ने खुलेपछि उनलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई अवैध हतियार तथा सञ्चार उपकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।