रणभूमी सम्वाददाता शुक्रबार, फाल्गुण ०१, २०८२
विराटनगर / विराटनगर-१६, वर्माटोल स्थित मिल्स माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा हीरक जयन्ती फागुन २ गतेदेखि ८ गतेसम्म मनाइने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक विन्दुकुमार लावतीले सातदिने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। हीरक जयन्ती स्मारिका विशेष अंक २०८२ प्रकाशनको अन्तिम चरणमा रहेको उनले बताए।
पूर्व विद्यार्थीहरूले व्यक्तिगत तथा समूहगत रूपमा आर्थिक सहयोग गरेका छन्। एसएलसी ब्याच २०३९ ले ३ लाख ४ हजार ५२८, ब्याच २०३८ ले २ लाख २६ हजार ३६५, ब्याच २०४६ ले ७३ हजार ६५० र ब्याच २०३१ ले १ लाख ५५ हजार रुपैयाँको स्मार्ट बोर्ड प्रदान गरेका छन्।
फागुन २ देखि ४ गतेसम्म खेलकुद तथा अतिरिक्त क्रियाकलाप हुनेछ। फागुन ५ गते बिहान ७ बजे ३ किलोमिटर सडक दौड हुनेछ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विजेताहरूलाई पुरस्कार वितरण गर्नेछन्। फागुन ६ गते रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम हुनेछ।
फागुन ८ गते मूल समारोहमा ९४ वर्षीया पूर्व शिक्षक मणिकला गुरुआमालाई प्रमुख अतिथिको रूपमा रथयात्रा मार्फत सम्मान गरिनेछ। विद्यार्थीले निर्माण गरेको रोबोटद्वारा स्वागत र ड्रोनबाट भिडियो रेकर्ड गरिनेछ। कार्यक्रमका क्रममा २२ जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गरिनेछ।
प्रधानाध्यापक लावतीले स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थी, शिक्षक र अभिभावकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।