रणभूमी सम्वाददाता शनिबार, फाल्गुण ०२, २०८२
विराटनगर / सशस्त्र प्रहरी बल नेपालले मोरङ जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। सीमा सुरक्षा गुल्म रानीको नेतृत्वमा खटिएको संयुक्त टोलीले जहदा भुटाहा–१ नयाँ टोल क्षेत्रबाट २७५.८ केजी गाँजा फेला पारेको हो।
सीमा सुरक्षा गुल्म रानी, बिओपी दरैया र बिओपी मधुमल्लको संयुक्त टोलीले परालको टौवा मुनि खाल्डो खनेर लुकाइएको अवस्थामा उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक खड्काको कमाण्डमा खटिएको टोलीले उक्त कारबाही गरेको हो।
घटनाको सम्बन्धमा प्रहरीले सोही स्थानका २८ वर्षीय चन्दन कुमार साहलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका साहमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लागूऔषधको ओसारपसार बढ्दै गएपछि सुरक्षा निकायले निगरानी र गस्तीलाई थप कडाइ गर्दै आएको बताइएको छ। सशस्त्र प्रहरीले यस्ता गतिविधिमाथि कडा नजर राखी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।