रणभूमी सम्वाददाता बिहिबार, फाल्गुण ०७, २०८२
विराटनगर / नेपाल-भारत उच्चस्तरीय सीमा जिल्ला समन्वय समितिको बैठक आज मोरङको विराटनगरमा सम्पन्न भयो। बैठकमा नेपालतर्फका मोरङ, झापा र सुनसरी जिल्लाका अधिकारीहरू र भारततर्फका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका अधिकारीहरूले भाग लिए।
बैठकको संयुक्त अध्यक्षता मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र अररियाका जिल्ला मजिस्ट्रेट विनोद दुहानले गरे।
बैठकको सबैभन्दा महत्त्वपूर्ण निर्णयअनुसार नेपालमा फाल्गुन २१ गते हुने मतदानको ७२ घण्टा अगाडि अर्थात् फाल्गुन १८ गरे देखि २१ गते को मध्यरातसम्म सीमा सिल गर्ने सहमति भएको छ। दुवै पक्षले संयुक्त सीमा गस्ती बढाउने र सुरक्षा व्यवस्था थप सुदृढ पार्ने कुरामा पनि सहमति जनाए।
बैठकमा सीमा क्षेत्रमा हुने विभिन्न गैरकानूनी गतिविधिहरू, जसमा तेस्रो देशका नागरिकको अनधिकृत प्रवेश, लागूपदार्थ तस्करी, मानव बेचबिखन, नक्कली मुद्रा परिसंचरण, हतियार तस्करी र नगद तस्करीजस्ता गतिविधि नियन्त्रण गर्न दुवै देश मिलेर काम गर्ने प्रतिबद्धता पुन: व्यक्त गरिएको छ। साथै शंकास्पद तथा अवांछनीय गतिविधिहरूको सूचना तत्काल आदानप्रदान गर्ने प्रतिबद्धता पनि गरिएको छ।