२५ फाल्गुण २०८२, सोमबार
Tags

सुनसरी–३ मा निर्वाचित अशोक चौधरीद्वारा मतदातालाई धन्यवाद अभियान

मोहमद अकील आइतबार, फाल्गुण २४, २०८२

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका अशोक चौधरीले मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन्।

पार्टीको निर्देशन अनुसार विजय र्‍याली ननिकाल्ने निर्णय गरिएपछि चौधरीले मतदाताको सम्मानस्वरूप घर–घरमा पुगेर धन्यवाद दिँदै आएका हुन्। उनले निर्वाचनमा आफूलाई विश्वास गरेर मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा क्षेत्रको विकास र जनताका अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।

चौधरी हाल विभिन्न गाउँ तथा बस्तीमा पुगेर स्थानीयवासीसँग भेटघाट गर्दै निर्वाचनका क्रममा दिएको साथ र समर्थनका लागि धन्यवाद व्यक्त गरिरहेका छन्।

निर्वाचन परिणामअनुसार चौधरीले कुल ४७ हजार ४२१ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारलाई २६ हजार ९२० मतान्तरले पराजित गरेका हुन्। गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका थिए।

त्यसैगरी नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरीले १५ हजार ०८३ मत प्राप्त गरेकी थिइन्।

निर्वाचन जितपछि चौधरीले उत्सवभन्दा पनि मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धन्यवाद ज्ञापन गर्ने अभियानलाई प्राथमिकता दिएका छन्। उनले जनताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै अब विकास र जनहितका कामलाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्