२६ फाल्गुण २०८२, मंगलबार
Tags

मोरङमा ८२ प्रतिशत उम्मेदवारको जमानत जफत

रणभूमी सम्वाददाता मंगलबार, फाल्गुण २६, २०८२

विराटनगर / फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङका अधिकांश उम्मेदवारले जमानत जोगाउन सकेका छैनन्। जिल्लामा उम्मेदवारी दिएका ११० जनामध्ये ९१ जनाको जमानत जफत भएको छ भने १९ जना मात्र जमानत जोगाउन सफल भएका छन्।

मोरङका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल उम्मेदवारमध्ये ८२.७२ प्रतिशतको जमानत जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।

प्रमुख दलहरूमध्ये नेपाली कांग्रेस बाहेक नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश उम्मेदवारले आवश्यक मत ल्याउन सकेनन्। नेकपा एमालेका उम्मेदवारमध्ये मोरङ निर्वाचन क्षेत्र नम्बर १ र २ बाहेक अन्य क्षेत्रमा उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ।

जमानत जफत हुने उम्मेदवारमध्ये मोरङ–३ का ईरान राईले ७७५ मत, मोरङ–४ का जीवन घिमिरेले ६९३ मत, मोरङ–५ का मनोजकुमार अग्रवालले ६९४ मत र मोरङ–६ का विनोदप्रसाद ढकालले ८३१ मत प्राप्त गरेका थिए।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मोरङ–१ का कुलप्रसाद साम्बाले २ हजार २२४ मत, मोरङ–२ का चन्द्रवीर राईले १ हजार ३६६ मत, मोरङ–३ का डा. देउमान सम्बाहाम्फेले १ हजार २५९ मत र ओपेन्द्रकुमार रायले १ हजार ७१६ मत प्राप्त गरे पनि जमानत जोगाउन सकेनन्।

यसैगरी २०७९ सालमा मोरङ–५ बाट निर्वाचित पूर्वसांसद योगेन्द्र मण्डलले यसपटक राष्ट्रिय ऊर्जाशील पार्टी दर्ता गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। उनले उक्त क्षेत्रमा ४ हजार १९९ मत प्राप्त गरे पनि आवश्यक मत नपुग्दा जमानत जफत भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीसहित विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ९१ जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ। जिल्लामा भने १९ उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गरी जमानत सुरक्षित गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्